काठमाडौँ । स्पेनको घरेलु लिग ला लिगामा बार्सिलोनाले उपाधि आशा जिवितै राखेको छ । आइतबार राति भ्यालेन्सियालाई २–३ गोलको जित निकाल्दै बार्सिलोनाले उपाधि आशा कायमै राखेको हो ।
भ्यालेन्सियालाई हराएसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अङ्क बराबरी गरेको छ । उसले ३४ खेलमा ७४ अङ्क बनाएको छ । दोस्रो स्थानको रियलसँग पनि ७४ अङ्क छ । कम गोल खाएका कारण रियल बार्सिलोनाभन्दा अगाडि छ । भ्यालेन्सिया भने ३६ अङ्कका साथ १४औँ स्थानमा छ । मेस्टल्लामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यानले एक गोल गरे । भ्यालेन्सियाका ग्राबियल पौलिस्टा र कार्लोस सोलेरले एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५०औँ मिनेटमा पौलिस्टाले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए । ५७औँ मिनेटमा मेस्सीको पेनाल्टी प्रहार असफल भएको थियो । तर त्यसलगत्तै गोल गर्दै मेस्सीले बार्सिलोनालाई खेलमा फर्काए ।
६३औँ मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोना अग्रता बनायो । ६९औँ मिनेटमा मेस्सीले दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–१ गोलको अग्रता बनायो । ८३औँ मिनेटमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने कोसिस गरे । तर बाँकी समय गोल नहुँदा बार्सिलोना विजयी भयो ।