दाङको तुलसीपुरमा कारभित्र भेटिएका तीन बालकको शवको पहिचान खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका-६ मा भारतीय नम्बर प्लेटको कारमा शव भेटिएका तीन बालकको पहिचान खुलेको हो । उनीहरु सबै तुलसीपुर उपमहानगरपालिकाका रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका-६ का भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणको शव भेटिएको छ। उनीहरु तीनैजना गएको १६ गतेदेखि हराएका थिए । उनीहरुका अभिभावकले १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष टोली तुलसीपुर पुगेको छ । बालकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरी जनाएको छ ।
मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् । उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरी अनुसन्धानकालागि गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।