माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । यो टाउको दुखाइको एउटा प्रकार मात्रै हो । सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ । टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो ।
यसमा सबै परीक्षणका रिपोर्ट सामान्य नै आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षण; रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन ।
कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन्छन् । भनिरहेका हुन्छन्, ‘सबैतिर लगियो । केही रोग देखिँदैन । कतै नाटक त होइन !’ यसले बिरामीलाई पीडामाथि थप पीडा दिन्छ ।
माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ भने माइग्रेन भएको पनि हुन सक्छ । नसाको कमजोरीका कारण माइग्रेन हुने गर्छ । माइग्रेन हुँदा एक्कासि टाउको दुखाइ सुरु भएर लामो समयसम्म दुख्ने गर्दछ । जटिल खालको माइग्रेन हुँदा हात–खुट्टा नचल्ने, आँखा दुख्ने झम्झमाउनेजस्ता लक्षण देखा पर्दछन् ।
मस्तिष्कभित्र रक्तसञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ, अनि टाउको दुखाइको मात्रा बढ्दै जान्छ । यो न्यरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादनका कारण पनि माइग्रेन हुने गर्दछ ।
विश्वको तेश्रो ठूलो समस्याको रुपमा रहेको माइग्रेको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा १८ प्रतिशत महिला तथा १४ प्रतिशत पुरुषमा यो समस्या देखिएको छ ।
हर्मोनको गडबडी, गर्भनिरोधक चक्कीको सेवन लगायतका कारण पनि यो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गरिन्छ । माइग्रेनको समस्या भएमा यसले दैनिकीलाई समेत प्रभाव पर्ने हुँदा यसबारे सचेत रहन आवश्यक छ ।
लक्षण
माइग्रेनको प्रमुख लक्षण असहनीय टाउको दुखाइ हो । यस्तो दुखाइ प्रायः टाउकाको आधा भागमा, खासगरी बायाँतर्फ, कन्चट र निधारमा हुन्छ । दुखाइसँगै वाकवाकी हुने, उल्टी होला जस्तो हुने, उल्टी हुने तथा चक्कर लाग्ने जस्ता लक्षण देखा पर्न सक्दछ ।
माइग्रेनको दुखाइ मध्यमदेखि लिएर निकै भयंकर खालको हुन्छ । कतिपयलाई माइग्रेनको दुखाइ यति पीडादायक हुन्छ कि रोगी दैनिक कार्य गर्न पूर्ण असमर्थ हुन्छ । बन्द कोठामा, एकान्तमा बस्न रुचाउ“छ । माइग्रेन भएको बेला रोगीले भोजन गर्न, टीभी हेर्न, म्युजिक सुन्न तथा होहल्ला मन पराउँदैन ।
आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।
खान नहुने कुरा
माइग्रेन सबैलाई एउटै कारणले दुख्छ भन्ने छैन । कसैलाई दही खाँदा दुख्न सक्छ भने कसैलाई चिसो पेयपदार्थ खाँदा दुख्छ । त्यसैले माइग्रेन हुने व्यक्ति आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन ।
मुख्यगरी मोही, चिसो पेयपदार्थ, गुन्द्रुक, साँधेको अचार, कफी नखाँदा नै राम्रो हुन्छ । यस्तै धेरैबेर भोकै नबस्ने, घामबाट जोगिने, होहल्लामा नबस्ने, तनाव कम लिने गर्नाले माइग्रेन कम हुन्छ ।
खाएपछि आफूलाई गाह्रो हुने खानेकुरा, गाह्रौँ हुने काम नगर्दा राम्रो हुन्छ । माइग्रेनलाई कम गर्ने हो भने खाने, बस्ने, सुत्ने जीवनका हरेक गतिविधिको ख्याल गर्नुपर्ने हुन्छ ।
माइग्रेनबाट बच्ने घरेलु उपाय
-माइग्रेन भएमा हल्का हातले टाउको मालिश गर्नु पर्दछ । हातको स्पर्शबाट पाइने आराम औषधीको तुलनामा बढी प्रभावकारी हुन्छ । त्यसैले, माइग्रेनका कारण टाउको दुखेमा काँध तथा गर्दनको मालिस गर्नु पर्छ । यसले दुखाई कम गर्न राहत मिल्छ ।
-एउटा तौलियालाई तातो पानीमा डुबाएर त्यही तौलियाले केही बेर दुखेको भागमा मसाज गरेको खण्डमा आराम मिल्छ । माइग्रेन भएमा वरफको टुक्रा पनि प्रयोग गर्न सकिन्छ ।
-माइग्रेन भएमा सासको गतिलाई कम गर्नु पर्छ । किनकी लामो लामो सास फेर्नाले टाउको दुख्ने समस्या झन् बढ्न सक्छ ।
-माइग्रेन भएमा कपूरलाई घ्यूमा मिलाएर हल्का हातले टाउकोमा मालिस गर्नाले पनि दुखाई कम हुने गर्छ ।
-बटरमा मिश्री मिसाएर खानाले पनि माइग्रेनको समस्या कम हुने गर्छ ।
-कागतीको बोक्रालाई पिसेर, यसको लेप निधारमा लगाउनाले पनि माइग्रेन ठीक हुनसक्छ ।
-माइग्रेनमा आरोमा थेरापीले राहत दिनसक्छ । अरोमा थेरापीमा हर्वल तेलको प्रयोग गरिन्छ । यसमा हर्वल तेललाइ निश्चित प्रकि्रयाद्धारा हावामा फैलाइन्छ र वाफका माध्यमद्धारा उक्त तेललाई अनुहारमा लगाइन्छ ।
-माइग्रेनमा टाउको दुख्ने समस्या भएमा मन्द संगीत सुन्नु फाइदाजनक हुनसक्छ । मधुरो संगीत तथा धुनले मनलाई अन्तै मोड्नुका साथै दिमागलाई शान्त पार्छ ।