नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाएका छन् ।
बुधबारदेखि राजधानीमा सुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा गुट सुरु गर्ने केपी ओली भएको भन्दै मदन भण्डारी फाउन्डेसनमार्फत उनले नै गुटको सुरूवात गरेको दाबी गरे।
‘केपी ओलीले जुन ढ्रगले त्यो काम गर्नुभएको छ । पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गर्नुभएको छ । यसले पार्टीमा रोष पैदा भएको छ’ उनले भने ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले केपी शर्मा ओलीले यो तीन वर्षमा स्वयं भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन्। उनले महत्वपूर्ण नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरुलाई मात्रै गरेको खनालको आरोप छ।
गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरुको उपस्थितिमा एमालेको पदाधिकारी खारेज गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र विधान संशोधन गर्ने निर्णय गरेका थिए ।
खनालले २० को दशकबाट देशमा नेपाल कम्युनिष्ट पार्टीलाई पुन:गठन र एकीकरणको थालनी गरेको बताए। एमाले र माओवादी केन्द्रको एकीकरणले ठूलो सफलता हासिल गरे पनि सोचेजस्तो परिणाम दिन नसकेको स्पष्ट पारे।
वरिष्ठ नेता खनालले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने बताए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहले भेलाको आयोजना गरेका हुन्। ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिए पनि देशभरबाट बाक्लो संख्यामा नेता कार्यकर्ताको सहभागिता छ।