घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको उपचार कतारमा रहेको अस्पेटारमा गरिने भएको छ ।
विश्वमै खेलकुदसम्बन्धि चोटको शल्यक्रियाका लागि प्रख्यात रहेको अस्पेटारमा उपचार गर्न खिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल संघ समक्ष आग्रह गरेको थियो । एन्फाको आग्रह कतारले स्वीकारेसँगै दुवै खेलाडीको शल्यक्रिया अब अस्पेटारमा हुने पक्का भएको छ ।
एन्फा प्रवक्ता किरण राईका अनुसार मगर र लामा घाइते भएपछि दुवैले बन्द प्रशिक्षण गुमाएका छन् । दुवै खेलाडी एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् ।
घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राईले बताए ।
लामाको खुट्टाको चोट बल्झिएको छ । उनी थ्री स्टारबाट खेल्ने क्रममा तीन वर्षअघि घाइते भएका थिए ।
मगर भने बन्द प्रशिक्षणका क्रममा घाइते भएका हुन् । उनको घुँडामा गम्भीर चोट लागेको छ । यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई उपचारका लागि कतार पठाएको थियो ।