रिलमा निकै रमाइलो जस्तो देखिन्छन् कलाकारको जीवन । सुन्दर पोशाक, मन्द मुस्कानले पनि रिलको रमाइलो किस्सा । तर रिलमा निकै रोचक देखिने कलाकारले रियल लाइफ भने सोचे जस्तो हुदैन ।
तीनसय बढी म्यूजिक भिडियोमा काम गरेकी सुष्मा अधिकारी गोदावरीको घटना कहिल्यै बिर्सन्नन् ।पुसको महिना, गोदावरी लोकेसन । निर्देशक थिए शिब बिक । पानीमा भिजेर अभिनय गर्नुपर्ने । निर्देशकले पहिल्यै भिजेर अभिनय गर्नुपर्छ भनेकाले तयार भएर बसेकि थिइन् । सुटिङ सुरु भयो । ट्याङ्करले पानीको फोहोरा दिन थाल्यो ।
निर्देशकको एक्सन संगै सुष्मा पानीको फोहोरामै नाच्न थालिन् । मोडल नयाँ थिए । पटक पटक टेक खाए । सहकर्मी मोडलले धेरै टेक खाँदा साँझसम्म पानीमा भिजेरै बित्यो । अब त सुटिङ सकियो भनेर खुसी हुँदै घर आएकी सुष्मालाई घर पुग्दा नपुग्दै हनहनी ज्वरो आइसकेको थियो । सुष्मा भन्छिन् ‘चिसो पानीमा भिज्दाको असरले एक हप्तासम्म औषधी खाएर सुत्नु पर्यो ।’
म्यूजिक भिडियोको तुलनामा उनको फिल्म थोरै छ । फिचर फिल्मको तुलनामा म्यूजिक भिडियोको काम छिटो हुने र पारिश्रमिक पनि राम्रो पाइने भएकाले भिडियोमै फोकस भएको उनको भनाई छ । तस्वीरकै कारण सुष्मा अधिकारीको चर्चा चुलिएको हो ।
विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–
मोडल सुष्मा अधिकारीको वाल्यकालको सम्झना उनकै शब्दमाः
सानोमा सार्है सोझी र लजालु थिएँ । साथी पनि निकै थोरै थिए । स्कुल पढ्दा त मेरा तीनजना मात्रै साथी थिए । म स्कुलमा औसत विद्यार्थी थिएँ । फस्ट, सेकेण्ड कहिल्यै भइनँ । बाबाले परिक्षाको बेला स्कुलबाट आउनेबित्तिकै पेपर मागेर कस्तो लेख्यौ भनेर सोधिहाल्नु हुन्थ्यो, मलाई दिक्क लाग्थ्यो ।
स्मृती भन्ने निकै मिल्ने साथी थिई । तर, पाँच कक्षामा पढ्दा मज्जैको झगडा पर्यो । पाँच दिनसम्म बोलिनँ । म बस्ने बेञ्चमा चुइगम टाँसिदिइछ । मेरो स्कटमा चुइगम लागेपछि म नराम्रोसँग रिसाएको थिएँ । अहिले चाँही उ मेरो निकै मिल्ने साथी हो ।
मलाई बाबाले एकपटक मात्रै पि ट्नु भएको छ । त्यो पनि स्कुल बंक गरेको कारण । मेरो साथीको बाबा-ममी हुनुहुन्थेन । साथीले आज नयाँ फिल्म लाग्छ, हेर्न जाउँ भनी । हामी दुई पिरियड छोडेर फिल्म हेर्न गयौं । हामीले स्कुल छाडेर फिल्म हेर्न गएको पछि थाहा भएछ ।
स्कुलमा चेतराज भन्ने सर हुनुहुन्थ्यो । उहाँको सारै डर लाग्थ्यो । उहाँको नाम सुन्नेबित्तिकै हाम्रो सातो जान्थ्यो । मेरा केही साथीहरु निकै चकचके थिए । उनीहरुले चकचक गरेवापत मैले थुप्रैपटक पिटाई खाएकी छु ।
स्कुल जान घरबाट १५ मिनेट जति लाग्थ्यो । कहिले बाबासँग जान्थेँ त कहिले दादासँग । ५/६ कक्षापछि चाहीँ म आफैं साइकल लिएर जान थालेँ । कति साथीहरुले घरमा खाना बनाएको कुरा गर्थे । एकपटक मैले पनि सरप्राइज दिन पर्यो भनेर आफ्नै सुरले खाना बसाएँ । तर, सबै डढेछ । पछि ममीको गाली खाएँ ।
म स्कुलमा पेन्सिल खुब हराउथेँ । तर, घरमा आएर भन्दिनथेँ । एउटा बट्टामा पेन्सिल राख्दिनुहुन्थ्यो, खुसुक्क झिकेर झोलामा राख्थेँ । स्कुल जाँदा चिटिक्क परेर जाने बानी थियो । सानोमा ममीले आइरन गर्दिनुहुन्थ्यो । पछि आफैंले गर्न थालेँ । मलाई सानोमा पाइन्ट मन पथ्र्यो । पिंक कलर मलाई मन पर्ने रंग थियो । नयाँ लुगा चाँहि प्राय दसैमा किन्दिनुहुन्थ्यो ।
हाम्रो परिवार शाकाहारी भएकाले घरमा माछा मासु पाक्दैन थियो । म फुपुको घरमा गएर मासु खान्थेँ । मलाई थुक्पा खुब मन पथ्र्यो । हामी साथी-साथी मिलेर थुक्पा खाना जान्थ्यौं ।
स्कुल पढ्दाका आठ-नौ जना जति साथी अहिले सम्पर्कमा छन् । हप्तामा एकपटक जसो फेसबुकमा कुरा हुन्छ ।
सानोमा एकपटक दुर्घ टना भएको छ । मलाई साइकल चढ्न खुब रहर लाग्ने, तर घरमा दिनुहुन्नथ्यो । एक दिन घरमै थिएँ । सरु दिदी भन्ने हुनुहुन्थ्यो । उहाँ आउनुभो र घुम्न जाउँ भन्नु भो । साइकलको पछाडि बसेँ । सरु दिदीले साइकल चलाइरहँदा मेरो खुट्टा त पांग्राभित्र छिरेछ । घाइते नै भएँ । १५ दिन जति रेस्ट गर्नु पर्यो । त्यो वेलामा लागेको चोटको निशाना खुट्टामा अझै बाँकी छ ।
म सानैदेखि स्कुलमा हुने कार्यक्रममा डान्स गर्थेँ । ठुलो भएपछि के हुने मैले केही सोचेको थिइनँ तर, साथीहरुले हिरोइन हुन्छेस भन्थे । म जन्मेको धनगढी । हाम्रो गाउँमा थुप्रै कार्यक्रम हुन्थ्यो तर, त्यति धेरै त्यस्ता कार्यक्रममा जान्नथेँ । मैले स्कुल पढ्दा राजेश हमाल र दिलिप रायमाझीको नाम सुनेको थिएँ तर, भेट भएको थिएन ।
आर्यनको अभिनयवाट प्रभावित
आर्यन सिग्देलको अभिनयवाट प्रभावित सुष्मालाई आर्यनसँग काम गर्ने मन छ । तर, अहिलेसम्म अवसर जुरेको छैन । कुनै दिन आर्यनको जोडी बन्न पाइएला भन्नेमा उनी आसावादी छिन् ‘कुनै दिन काम गर्ने साइत आउँछ होला ।’ सुष्माले भनिन् । आर्यनको फिल्म हेर्नु अघि नै उनको फ्यान बनेकी सुष्माले कुमारी हलमा गएर पहिलो पटक आर्यन अभिनित ‘किस्मत’ हेरेको थिइन् । त्यसपछि कुनै पनि फिल्म छुटाएकी छैनन् ।
सुष्मा भन्छिन् ‘उहाँको प्राय सबै फिल्म हेर्ने गरेकी छु ।’ उनका अरु पनि साथीहरु छन आर्यनका फ्यान । ‘हामी साथी साथी (फ्यानहरु) जम्मा भएर हलमै गएर फिल्म हेर्ने गरेका छौं ।’ उनले भनिन् । जम्मा चार पटक भेट भएको रहेछ उनको आर्यनसँग । पत्येक भेट हाई हल्लोमै बित्यो । ‘म मनमा लागेको कुरा फ्याट्ट भन्नै सक्दिन ।’ सुष्माले भनिन् । त्यसकारण सुष्मा आफ्नो कट्टर फ्यान हो भन्ने कुरा आर्यनलाई अहिलेसम्म थाहा छैन ।
स्कुल लेभलदेखि नै नेपाली कलाकारिता क्षेत्रमा भविष्य बनाउँछु भन्ने दृढ संकल्प बोकेकी सुष्माको सपना उच्च शिक्षाका लागि काठमाण्डौँ आउने क्रममा पुरा भयो । सानैदेखी नृत्यमा सिपालु उनी टिभीमा नाटक, चलचित्र हेर्ने क्रममा आफु पनि अभिनन गर्न सिक्ने गर्थिन् । एसएलसी दिएपछिको विदाका बेला एउटा म्युजिक भिडियोमा खेलेर नेपाली रंगमञ्चमा प्रबेश गरेकी सुष्माले यो नौं वर्षको अन्तरालमा निकै ठुलो उचाई बनाउन सफल भईसकेकी छिन् ।