ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएको छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ ।
परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले बताएका छन् ।
सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले सबैलाई आग्रह गरेका छन् । कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेको जानकारी दिए । उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य केही समयअगाडी कोरोना सड्क्रमणबाट मुक्त भएकी छिन् ।
त्यसअघि उनीहरुले कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहिनलाई र अनाथ ५५ बालबालिकाले आश्रय लिइरहेका बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका थिए ।
दीपक र आयशाले दसौं सागमा सँगै स्वर्ण पदक जितेका थिए । त्यस्तै एसियाली खेलकुदमा पनि उनीहरुले कास्य पदक जितेका थिए । छनोट चरण पार्दै गर्दै २००८ को ओलम्पिक खेलेका दीपकले सागमा ४ वटा स्वर्ण र एसियाली खेलकुदमा २ कास्य पदक जितेका थिए ।