स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला तथा सरकारी अस्पतालहरूलाई पत्राचार गरेको छ।
बुधबार कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसिएस बैठकले लक्षण देखिएकाहरूको कोरोना परीक्षण र उपचार नि:शुल्क गराउन सरकारी अस्पताल तथा प्रयोगशालालाई पत्राचार गरेको हो।
तर त्यस्ता व्यक्तिले बीमा गराएको भए सबै खर्च सोही रकमबाट व्यहोर्नुपर्ने मन्त्रालयले जनाएको छ।
बीमा नगरेको खण्डमा भने सरकारले नि:शुल्क परीक्षण र उपचार गर्नेछ।
त्यसैगरी, कसैले उपचार र परीक्षण गराउनमा योगदान गर्न चाहेमा गर्न समेत आग्रह गरेको छ। यसअघि गत कात्तिक २४ गते मन्त्रिपरिषद् बैठकले लक्षण देखिएका कोरोना संक्रमितको उपचार नि:शुल्क गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचार नि:शुल्क गर्ने फैसला पुनरावलोकन गर्न अनुमति नदिएपछि सरकार पछि हटेको थियो।