झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले कोरोना संक्रमण हुने डरले घरमै बस्नुको साटो जीवन र जिविकालाई सँगसँगै लैजानुपर्ने बताएका छन् ।
अस्पतालले आज गरेको पत्रकार सम्मेलनमा प्रसाइले भने ‘कोरोनाको त्रासले सरकारले गरेको लामो लकडाउनमा हजारौं मानिस भोकले मरेका छन्, आत्मह त्या गरेका छन्, सवारी साधन नहुँदा अस्पताल जान नपाएर सयौं मरेका छन, अब कोरोनासँग डराएर सधैं बस्नुको साटो, जीवन र जिविकालाई सँगसँगै लैजानुको विकल्प छैन ।’
बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि थुप्रै अफवाहसमेत फैलिएको बताए ।
पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. पराजुलीले भने ‘अस्पतालको काममा संलग्न हुँदा संक्रमण भएका सबै १२ जना डाक्टर नर्सहरु यहीँको आइसोलेसनमा बस्नु भएको छ । उहाँहरुमा कुनै लक्षण देखिएको छैन, अब १४ दिन पूरा भएपछि पुनः पिसिआर परीक्षण गर्ने तयारी गरेका छौं ।’
‘बि एण्ड सी अस्पताल कोरोनाको उपचार गर्न सक्षम छ’ डा. पराजुलीले भने ‘अब हाम्रै अस्पतालका स्वास्थ्यकर्मीबाट रगत संकलन गरेर प्लाज्मा थेरापी गर्न पनि सक्षम बन्दैछौं ।’
बिर्तामोड नगरपालिका स्वास्थ्य शाखासँग समन्वय गरेर अस्पतालले आफ्नै खर्चमा स्वाब संकलन गरेर परीक्षणका लागि पिसिआर ल्यावमा पुर्याउन सहयोग गरिरहेको पनि डा. पराजुलीको भनाई छ ।