पाल्ला जिल्लामा पहिलो पटक समुदायमा कोरोना सङक्रमण देखिएको छ ।
तानसेन नगरपालिका–४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभाषमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
महिलासँगै रहेका श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको छ ।
बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको हो । यहाँ सङ्क्रमितको सङ्ख्या ५ सय ६३ पुगेको छ भने ५ सय ६० जना कोरोना निको भएर घर फर्किएका छन् ।
चार जना बैंकका कर्मचारीमा कोरोना
बर्दियामा थप आठ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
चार जना बैंकका कर्मचारीसहित आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बाँसगढी नगरपालिका–५ का तीन जना वडा नम्बर ८ का दुई जना र वीरेन्द्रनगर सुर्खेत घर भएका तीन जनामा कोरोना पुष्टि भएको हो ।
तीमध्ये एकजना महिला र सुर्खेत घर भएका तीन जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो । योसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २७७ पुगेको छ ।