
सरकारको कारमको तारिफ नगर्नेलाई मोतीबिन्दु लागेको प्रतिक्रिया दिने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आलोचना चुलिएको छ ।
प्रतिपक्षदेखि सर्वसाधारण समेतले मन्त्रीजस्तो पदमा रहेका उनको अभिव्यक्ति अशोभनीय रहेको प्रतिक्रिया दिएका छन् ।
सोमबार वीर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले कोरोना नियन्त्रणमा सरकारको काम नदेख्नेहरुलाई मोतियाबिन्दु लागेको छ कि भन्ने अनुभूति भएको बताएका थिए ।
उनले भनेका थिए ‘हामीले निर्वाह गरेको यो भूमिका विदेशीहरूले देखेका छन्। तर विदेश र स्वदेशमा रहेका नेपालीहरूले यसलाई देख्न सक्दैनन्,’ मन्त्री ढकालले भने, ‘यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा मोतिबिन्दु लागेको छ कि भन्ने मलाई अनुभूति हुन्छ।’
मुलुकमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन चुलिईरहेको छ । संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेकै छ । तर पर्याप्त मात्रामा पीसीआर परीक्षण हुन सकेको छैन ।
स्वास्थ्य सामग्री खरिदमा करोडौंको घोटाला भएको भन्दै संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेका छन् ।
अर्थात् विश्वव्यापी महामारीबीच स्वास्थ्य मन्त्रालय र बहालवाला मन्त्रीको काम सन्तोषजनक देखिएको छैन । तर उनै मन्त्री भानुभक्त ढकाल भने मर्यादा भुलेर यस्तो प्रतिक्रिया दिइरहेका छन् ।
कोरोना संक्रमण भयावह बन्दै गएको अवस्थामा नागरिकप्रति गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । यसलाई सुधार गरेर अघि बढ्नुको साटो नागरिकप्रति नै आक्रोश पोख्ने मन्त्रीको यो शैलीलाई किमार्थ उपयुक्त मान्न सकिँदेन ।
मन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले गत शुक्रवार गरेको छलफलमा विज्ञरुले परीक्षणको गति नपुगेको बताएका थिए । छलफलमा सहभागी भएका विज्ञहरुले समुदाय स्तरमा संक्रमण गएको संकेतहरु देखिएकाले पनि परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् । दैनिक परिक्षणको दर नबढेकोमा आम मानिसहरुले चिन्ता व्यक्त गरिरहँदा स्वास्थ्य मन्त्रीको “मोतीबिन्दू” शव्दवाली सार्वजनिक हुनु ठीक नभएको नाम नखुलाइदिने सर्तमा एक जनस्वास्थ्य विज्ञले केटीएम दैनिकलाई बताए ।
नेपालमा मृत्युपछि मात्रै कोरोना पुष्टि हुने कुरामा पनि ती विज्ञले चिन्ता व्यक्त गरेका छन् ।
केही समयअगाडी मन्त्री ढकालले दैनिक १० हजारको संख्यामा कोरोना परीक्षण गर्ने बताएपनि अहिले ३ देखि ४ हजारको हाराहारीमा परीक्षण भैरहेको छ ।