
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणमा सरकारले सीमित स्रोतसाधनका बाबजुद् पनि सकारात्मक काम गरेको बताएका छन्।
वीर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सरकारको काम नदेख्नेहरुलाई मोतियाबिन्दु लागेको छ कि भन्ने अनुभूति भएको बताए।
‘हामीले निर्वाह गरेको यो भूमिका विदेशीहरूले देखेका छन्। तर विदेश र स्वदेशमा रहेका नेपालीहरूले यसलाई देख्न सक्दैनन्,’ मन्त्री ढकालले भने, ‘यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा मोतिबिन्दु लागेको छ कि भन्ने मलाई अनुभूति हुन्छ।’
उनले विदेशबाट आएका व्यक्तिहरूलाई टर्चले जस्तै खोजीखोजी परीक्षण गरेको र पोजेटिभ देखिएकाहरूलाई अस्पतालसम्म पुर्याइएको बताए।
मन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले शुक्रवार गरेको छलफलमा विज्ञरुले परीक्षणको गति नपुगेको बताएका थिए । छलफलमा सहभागी भएका विज्ञहरुले समुदाय स्तरमा संक्रमण गएको संकेतहरु देखिएकाले पनि परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् । दैनिक परिक्षणको दर नबढेकोमा आम मानिसहरुले चिन्ता व्यक्त गरिरहँदा स्वास्थ्य मन्त्रीको “मोतीबिन्दू” शव्दवाली सार्वजनिक हुनु ठीक नभएको नाम नखुलाइदिने सर्तमा एक जनस्वास्थ्य विज्ञले केटीएम दैनिकलाई बताए ।
नेपालमा मृत्युपछि मात्रै कोरोना पुष्टि हुने कुरामा पनि ती विज्ञले चिन्ता व्यक्त गरेका छन् ।
केही समयअगाडी मन्त्री ढकालले दैनिक १० हजारको संख्यामा कोरोना परीक्षण गर्ने बताएपनि अहिले ३ देखि ४ हजारको हाराहारीमा परीक्षण भैरहेको छ ।