
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरीले नेतृत्वमा रहेका नेताहरुलाई देश र जनताको बारेमा चिन्ता गर्न आग्रह गरेकी छन् ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुलाई जानकारी नै नगराई स्थगित गरेको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले असन्तुष्ट जनाइरहेका बेला सामाजिक सञ्जालमार्फत सांसद चौधरीले देशभरका कार्यकर्ता चिन्तित रहेको बताउँदै पद र कुर्सिको नभई देश, जनता र पार्टीको चिन्ता गर्न आग्रह गरेकी हुन् ।
उनले फेसबुकमा लेख्छिन् “देशभरका कार्यकर्ता चिन्तित छन । नेतृत्वमा रहनु भएका आदरणीय नेता कमरेडहरुले पद र कुर्सिको होईन देश , जनता र पार्टीको चिन्ता गर्दिनु होस् । यदि पार्टी दुर्घटनामा गयो भने शहीदको रगतले सराप्ने छ , कार्यकर्ताको आँशुले धिकार्ने छ , जनताको मतले प्रश्न गर्नेछ , नेपाली जनतामा निराशा छाउने छ । त्यसैले नेता कमरेडहरुलाई अनुरोध छ , बेलैमा बुद्धि पुर्याउनुहोस , नयाँ पुस्ताको भविष्यमाथि आगो नझोस्नुहोस , सबै मिलेर उपयुक्त निकास निकाल्नुहोस ।”