
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १० जना कपिलबस्तुमा भेटिएका थिए भने दिँउसो १ जना सर्लाहीमा जिल्लामा संक्रमित भेटिएका थिए ।
अहिले साँझमा फेरी कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
आज मात्र कपिलवस्तुमा १६ जना भेटिएका छन् । योसँगै कपिलवस्तु जिल्ला शिल गरिएको छ ।
आज बेलुका संक्रमणको पुष्टि भएका १३ जनामध्ये १२ जना पुरुष हुन् भने एकजना ११ वर्षिया बालिका (महिला) हुन् ।
कपिलबस्तुका ७ जना पुरुषहरुको उमेर समूह १६ देखि ३८ वर्षसम्म रहेको छ भने रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका६ का संक्रमित ६ जनाको उमेर २४ देखि ४० वर्ष छ । बर्दियाकी ११ वर्षिया बालिका पनि संक्रमित भएकी छिन् ।
रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।
बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
संक्रमितको संख्या १ सय ३४ पुग्दा १ सय १ जना पुरुष र ३३ महिला छन्। तीमध्ये केही नावालक पनि छन् । संक्रमितमध्ये ३३ जना निको भएर डिस्चार्ज भएका छन्।
हिजो बिराटनगरमा उपचार गराइरहेका झापा बाह्रदशी गाउँपालिकाका ५० वर्षिय पुरुष र भोजपुरका २६ वर्षिया पुरुष निको भएर घर फर्केका हुन् ।