
विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएका छन्।
कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका भोजपुर र झापाका एक एक जना निको भएका कोशी अस्पतालका मेडिसिन विभागका प्रमुख दीपक सिग्देलले जानकारी दिए।
झापा जिल्ला बाह्रदशी गाउँपालिकाका कोरोना संक्रमित व्यक्ति भारतको दिल्लीमा भएको जमाती सभामा सहभागी भएर झापा आएका थिए ।
त्यस्तै भोजपुरका २६ वर्षीय कोरोना संक्रमित युवक साउदीबाट आएका थिए । भोजपुर, हतुवागढी ती युवा गत फागुन ३० गते साउदीबाट नेपाल आएका हुन्।
काठमाडौं उत्रिएपछि उनी सुनसरीको इटहरी र धरानस्थित नातेदारकहाँ बस्दै श्रीमती र बच्चा भएको ठाउँ चतरा पुगेका थिए। त्यसपछि उनी उदयपुरको मैनामैनीस्थित ससुराली पनि गएका थिए। ससुरालीमा केही दिन बसेर उनी चैत ११ गते भोजपुर, हतुवागढी घर पुगे। उनका परिवारका र सम्पर्क रहेका कोही पनि व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन ।
योसँगै प्रदेश १ मा कोरोना उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको छ।
विराटनगर अस्पतालमा अहिले १९ जनाको उपचार भइरहेको छ।
प्रदेश १ मा हिजो थप एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो। उदयपुरको भुल्केमा एक महिलालाई कोरोना पुष्टि भएको हो। योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको हो।