काठमाडौँ । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असारको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.६९७५ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर असार महिनामा ५.९०२ प्रतिशत विन्दु रहेको थियो ।
ब्याजदर घटाउने बैंकहरुमा प्रभु बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।
जसमध्ये प्रभु बैंकले सबैभन्दा बढी घटाएको छ । यस बैंकले असारको तुलनामा साउनमा १.८५ प्रतिशत विन्दु ब्याजदर घटाएको छ । असारमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.१ प्रतिशतसम्म ब्याज दिएको यस बैंकले साउनमा भने यस्तो ब्याज ४.२५ प्रतिशत मात्र ब्याज दिने भएको छ ।
साउनमा अन्य दुई बैंकले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक रहेका छन् ।
चार बैंकले साउनका लागि ब्याजदर स्थिर राखेका छन् । जसमा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंक रहेका छन् ।
