मोरङको बेलबारी नगरपालिकामा नेपाली सेनाका पूर्वजम्दारसमेत रहेका आफ्नै बुबाबाट बलात्कृत बालिकाले न्याय नपाएको गुनासो गरेकी छन् । बेलबारी–११ मा आफ्नो बुबाको साथमा बस्दै आएकी १४ वर्षीया बालिकाले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अझैसम्म पनि आफूले न्याय नपाएको गुनासो गरेकी हुन् ।
बेलबारीमै कक्षा ९ मा पढ्ने उनले ५१ वर्षीय बुबाले तीन वर्षदेखि पटक–पटक बलात्कार गरेको बताएकी थिइन् । ११ वर्षको उमेरदेखि आफूलाई पटक–पटक बाबुले बलात्कार गरेको बताउँदै उनले पछिल्लो पटक २०७७ साल माघ २० गते राति आफ्नै घरमा धाकधम्की दिँदै डर देखाएर बलात्कार गरेको बताइन् ।
पछिल्लो पटक भने उनले प्रहरीलाई यसबारे जानकारी दिने आँट गरिन् । बलात्कारपछि बिरामी परेकी उनले सात महिनापछि अर्थात् भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले ती पुरुषलाई गत भदौको पहिलो साता पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार भदौ ७ गते सोमबार जिल्ला अदालत मोरङमा म्याद थप गरिएको थियो । तर अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा उनलाई छोडेपछि ती बालिका र उनकी आमाले पत्रकार सम्मेलन गरेर न्याय नपाएको गुनासो गरेका हुन् ।
‘ती बालिकाले किटानी जाहेरी दिएपछि हामीले पक्राउ गरी मुद्दा दर्ता गरेका थियौँ । त्यसपछि कानुनी प्रक्रिया पूरा गरी अदालतमा बुझाएका थियौँ’, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले केटिएम दैनिकसँग भने, ‘अदालतले उनलाई धरौटीमा छोडिसकेको छ ।’
डर देखाएर पटक–पटक बलात्कार
पत्रकार सम्मेलनका क्रममा ती बालिकाले डर देखाएर बाबुले पटक–पटक बलात्कार गरेको बताइन् । यस्तै उनले आफ्नी आमालाई पनि यो विषय सुनाए पनि आमाले गम्भीर रूपमा नलिँदा तीन वर्षदेखि बलात्कृत बन्नुपरेको बताइन् ।
यस्तै उनले आफूले घटना सुनाउने हिम्मत जुटाउँदा पनि न्याय नपाएको गुनासो गरिन् । ‘मैले आमालाई भनेकी थिएँ तर उहाँले गम्भीर रूपमा लिनु भएन । बुबाले पनि यो कुरा बाहिर ल्याए पुलिसले तलाईँ नै लैजान्छ, कसैले हेर्दैन भनेर डर देखाउनु भयो । मलाई बुबाले चार पटकसम्म बलात्कार गर्नुभयो,’ उनले भनिन् ।
मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ
मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका...
आइतबार, भदौ ६ २०७८पीडित बालिकाकी आमा ती सेनाका पूर्वजम्दारका अरू दुई जना पत्नी रहेको थाहा पाएपछि झापाको बिर्तामोड बस्न थालेकी थिइन् । छोरीलाई बेलबारी छोडेर आफू बिर्तामोड बस्ने गरेको सुनाउँदै उनी भन्छिन्, ‘बलात्कारको घटना भने गम्भीर प्रकृतिको घटना हो । तरपनि मलाई कुनै पनि जानकारी नदिई मोरङ जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छोड्यो । यसैले छोरीले न्याय पाइनन् ।’
‘उहाँ नेपाल आर्मीमा हुँदा मैले विवाह गरेको छैन भनी ढाँटेर मसँग बिहे गर्नुभयो’, उनी भन्छिन्, ‘पछि थाहा पाउँदा उहाँका अरू दुई श्रीमती रहेछन् । त्यो थाहा पाएपछि छोरीलाई त्यहाँ छोडेर म बिर्तामोड बस्न थालेकी हुँ । त्यसबीचमै यस्तो घटना घटेछ ।’