मोहनपुर–गेटा एयरपोर्ट सडक खण्ड निर्माणपछि मर्मत सम्भार नगरिँदा थोत्रिएको छ ।निर्माणको ८ वर्षदेखि मर्मत सम्भार नगरिँदा दिनहुँ एयरपोर्ट आउजाउ गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । वर्षौँदेखि सडक बिचमा परेका खाल्डा खुल्डीले धनगढी विमानस्थलको शोभालाई विगारिदिनुका साथै थप मर्मत सम्भार नहुँदा दिनदिनै थोत्रिँदै गएको छ ।
‘धनगढी विमानस्थल गेटा जाँदा कालोपत्रे सडकमा परेका खाल्डाखुल्डीले यात्रा दिक्दार लाग्छ,’ धनगढीका खगेन्द्र ओझाले भने,‘आफन्तलाई एयरपोर्ट छोड्न मोटरसाइकलमा जाँदा थोत्रिएको बाटोले यात्रा झुर बनाइदिन्छ ।’ कालोपत्रे सडकको बिचबिचमा परेका खाल्डाखुल्डीले सवारी साधन समेतलाई थोत्राउने गरेको उनी बताउँछन् ।
सुदूरपश्चिम आउँदा राजधानी काठमाडौँसँग जोड्ने एक मात्रै विमानस्थल गेटा आउजाउ गर्ने सडकको हालत बेहाल भएको बताउँदै अर्का स्थानीय राजेन्द्र चौधरीले भने,‘यो सडक भएर प्रधानमन्त्रीदेखि प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीका गाडी दिनहुँ हुइँकिन्छन्, तर सडक बनाउन कसैलाई चासो छैन ।’ सडकमा परेका खाल्डाखुल्डीले सवारी साधन दुर्घटनाको भय पनि बढेकोप्रति उनी चिन्ता गर्छन् ।
‘यो सडकमा सवारी चाप बढेको हुन्छ,’ उनले भने,‘यस्तैमा थोत्रो सडक हुँदा दुर्घटनाको भय पनि उत्तिकै छ ।’ सडक मर्मत सम्भारका लागि अहिलेसम्म कसैले पनि चासो नदिएको बताउँदै उनले भने,‘यो सडक बनेदेखि अहिलेसम्म कसैले पनि मर्मत सम्भार गरेको थाहा छैन मलाई ।’
काठमाडौँदेखि मन्त्री तथा नेताहरू विमानस्थलमा ओर्लँदा भने सयौँ नेता तथा कार्यकर्ता स्वागतका लागि फूलमा लिएर यही सडक भएर गेटा पुग्ने गरेको बताउँदै स्थानीय रविन्द्र जोशीले भने,‘तर यो सडकको दुर्दशा यस्तो हुँदा पनि कसैले मर्मत सम्भारका लागि पहल गरेको देखिएन ।’ मोहनपुरदेखि गेटा विमानस्थलसम्मको दुई दशमलव १ किलोमिटर कालोपत्रे सडक खण्ड जीर्ण बन्नै लाग्दा पनि कसैले आवाज नउठाएको बताउँदै उनले भने,‘यो सडकको अवस्थाका बारेमा सबै जानकार छन्, तर पनि कसैले आवाज उठाउँदैन ।’
आर्थिक वर्ष २०७०/०७१ मा निर्माण गरिएको यो कालोपत्रे सडक त्यसपछि मर्मत नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिए। ‘यो सडक निर्माण भएदेखि मर्मत सम्भार भएको छैन,’ उनले भने, ‘सडक हरेक वर्ष नियमित मर्मत सम्भार हुनुपर्ने हो।’
तीन वर्षदेखि यस सडक अहिले डिभिजन कार्यालय महेन्द्रनगर मातहत नभएको जोशीले बताए। ‘हामीसँग अहिले यो सडक छैन, हामीले केही गर्न पनि सक्दैनौँ’ जोशीले भने।
धनगढी उपमहानगरपालिकाका इन्जिनियर दीपराज भट्ट भने उक्त सडक मर्मतको जिम्मा डिभिजन कार्यालय महेन्द्रनगरकै भएको दाबी गर्छन्। ‘मोहनपुर–एयरपोर्ट सडक निर्माण डिभिजन कार्यालय महेन्द्रनगरले गरेको हो’ भट्ट भन्छन्, ‘मर्मत।, सम्भार पनि उसैको जिम्मा थियो।’पछिल्लो समय उक्त सडक मर्मतको माग गर्दै उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको भट्टले जानकारी दिए।
‘सडक मर्मत गरिदिन भनेर हामीले डिभिजन कार्यालय महेन्द्रनगरलाई पत्राचार गर्यौँ, तर उसले मर्मतका लागि बजेट छैन भनेपछि रोकिएको हो।’ उनी सुनाउँछन्। उपमहानगरपालिकाले आफ्नै बजेटले सामान्य मर्मत सम्भार गर्ने भने पनि गरेको छैन। ‘कसैले चासो नदेखाएपछि मोहनपुर–एयरपोर्ट सडकलाई हामीले सामान्य मर्मत सम्भार गर्ने भएका छौँ’ भट्टले भने–‘यो सडकलाई चौडा गर्ने र पूर्णरुपमा जिम्मा कसले लिने भन्ने कुरा अहिलेसम्म टुंगो लागेको छैन।’
सडक सङ्घीय सरकार वा प्रदेश सरकारले जिम्मा नलिए स्थानीय सरकारले लिने बताउँदै उनले भने,‘हामीलाई आधिकारिक रूपमा जिम्मा लिन भनेपछि हामी लिन्थ्यौँ, तर कसले जिम्मा लिने भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन।’
उक्त सडक मर्मतका लागि प्रदेश सकारलाई आग्रह गर्दा पनि वास्ता नगरेको आरोप धनगढीका नगर प्रमुख नृपबहादुर वडको छ। ‘हामीले मर्मत सम्भारका लागि प्रदेश सरकारसँग आग्रह ग¥यौँ, सरकारले सुनेन’ उनले भने, ‘पटक–पटक आग्रह गर्दा पनि नसुनेपछि यस पटक भने हामी आफैँले मर्मत सम्भार गर्ने भएका छौँ।’ मोहनपुर–एयरपोर्ट सडकलाई एक लेयर कालोपत्रे गरेर मर्मत सम्भार गरिने उनले जानकारी दिए। सडक निर्माणका लागि आरोप प्रत्यारोप मात्र हुने गरेको छ। निर्माणमा कसैले पनि वास्ता गरेको छैनन्।