नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ बालकोट पुगेका छन् । बालुवाटार छाडेदेखि एक्लो महसुस गरेका ओलीलाई भेट्न ठाकुर पक्ष बालकोट पुगेको हो ।
ओलीनिवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताए । ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुगेका हुन् ।
मुलुकको राजनीति ओली र ओली इत्तर पक्षमा विभाजित हुँदा ठाकुर पक्षले ओलीलाई साथ दिएको थियो । सोही क्रममा जेठ २१ गते जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिमण्डल असंवैधानिक ठहर गरेपछि जसपाबाट मन्त्री बनेकाहरू महिना दिन पनि नपुग्दै पदच्युत भएका थिए । ओलीसँग छोटो समयमात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।