आज नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगे ।
ओली सरकारमा रहेका बेला ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा सरकारसँग पार्टीको तर्फबाट ३ बुँदे सम्झौता भएपछि खासै सार्वजनिक कार्यक्रममा नदेखिएका विप्लव ओली बहिर्गमनसँगै अध्यक्षलाई भेट्न पुग्दा दाहाल पत्नी सीतालाई समेत भेटेको तस्बिर सार्वजनिक भएको छ ।
प्रचण्ड पुत्री गंगा दाहालले विप्लव र सीताको तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन् “पुनर्मिलनको एउटा तस्बिर…!!!”
जनयुद्धकालका आफ्ना कमान्डर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न बुधबार विप्लव प्रचण्ड निवास (खुमलटार) पुगेका थिए।त्यस क्रममा उनको भेट प्रचण्डकी पत्नी सीता दाहालसँग पनि भएको हो।
कुराकानीपश्चात् अन्तमा विप्लवले प्रचण्ड पत्नी सीता दाहाललाई पनि भेटे । सुरुमा त सीताले विप्लवलाई चिन्न सकिनन् । तर, विप्लवले आफ्नो परिचय दिएपछि सीताले उनलाई ठम्याइन् र गहँभरी आँसु पारिन् । त्यसपछि विप्लव पनि भावुक बने । केही भन्न सकेनन्, सीताको अवस्था देखेर ।
प्रचण्डको सचिवालयका अनुसार सशस्त्र माओवादी विद्रोहका एक योद्धा विप्लवले ५ वर्षभन्दा बढी समयपछि सीता दाहालसँग भेट गरेका हुन्।त्यो भेटमा उनीहरूबीच कति आत्मीयता झल्किएको छ, त्यो कुरा तस्बिरले नै प्रस्ट पार्छ।
दाहाल पत्नी सीता वंशाणुगत पार्किन्सन्स जस्तो देखिने रोगले पीडित छिन् । उनको उपचारको लागि अमेरिका, सिंगापुर र भारतमा रामदेवसँग पुर्याएपछि सीताको स्वास्थ्यमा सुधार आउन सकेको छैन । प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको निधन भएसँगै उनको स्वास्थ्यमा ठुलो समस्या देखिन थालेको हो ।
विप्लव र प्रचण्डको सम्बन्ध
तत्कालीन माओवादीले २०५२ फागुन १ बाट जनयुद्ध सुरु गर्दा विप्लवले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए । २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएर खटाएको थियो । विप्लवले त्यसपछि आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगे ।
२०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बने । २०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रुकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए । कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला विप्लवले प्रहरीहरूबाट हतियार लुटेका थिए ।
त्यसपछि पार्टीभित्र उनको कामको प्रशंसा भएको थियो । अध्यक्ष पुष्पकमल दाहालले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए । कालिकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि विप्लव चर्चित बनेका थिए । नेतृत्वको कमजोरी खरो ढङ्गबाट नडराई बोल्ने भएपछि विप्लवलाई दाहालले अँगाल्न छाडे उनको साटो वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई च्यापे । माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि दाहाल र विप्लवको सम्बन्ध बिग्रियो ।
पार्टीभित्र एक पटक पनि छलफल नगरी जनयुद्ध रोक्ने र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै दाहालसँग विप्लव रुष्ट बनेका थिए ।