सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि उत्पन्न विशेष परिस्थितिका बारेमा छलफल गर्न विपक्षी गठबन्धनको बैठक सुरु भएको छ। नेकपा एमालेका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको हो।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।
सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेसँगै एमाले नेता माधव कुमार नेपाल निवासमा १४ नेताहरु पुगेका छन् ।
नेपाली काँग्रेसबाट सभापति शेर बहादुर, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड पुगेका छन् भने जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव पुगेका छन् ।
त्यस्तै माओवादी बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायण काजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन सहभागी भएका छन् । त्यस्तै राजमोबाट दुर्गा पौडेल सहभागी भएकी छिन् ।
सर्वोच्च अदालतले सोमबार दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापित गरेको हो। बहुमत सांसदको समर्थन भएकोले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ। सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ।