नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका दलबदल गरेका १४ जना जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न निर्वाचन आयोगमा पत्र पठाएको छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलका अनुसार विगतमा पनि सोही व्यवहाेराकाे पत्र साे दलले निर्वाचन आयोगमा पठाइसकेको थियो ।
त्यसबेला केन्द्रीय समितिको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यायोजन गरेको थियो तर आयोगले पुनः केन्द्रीय समितिको बैठकको निर्णयसहित ताकेता गर्न भनेपछि सोमबार विहान बसेको केन्द्रीय समितिको बैठकले सो निणय गरेको उनले बताए ।
आज विहान बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगमा सो पत्र पठाउने निर्णय गरेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।
विगतमा पनि पार्टीले पत्र पठाए पनि निर्वाचन आयोगमा त्यसै रहेको थियो उनले जानकारी दिए । स्थानीय तहमा पनि विशेषगरी प्रदेश नम्बर २ का जनप्रतिनिधिहरुले दल परिवर्तन गर्नुभएको छ, उनले बताए ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ ले दल त्याग गर्न नहुने स्पष्ट व्याख्या गरेको छ । उक्त दफाको उपदफा २ अनुसार कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन । कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।