वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा मङ्गलवारदेखि खुकुलो हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
अब निजी सवारी साधन र ट्याक्सी जोर बिजोर प्रणालीमा चलाउन पाइने छ भने बारअनुसार पसल पनि खोल्न पाइने भएको छ । विभिन्न स्वरूपमा परिवर्तित हुँदै आएको निषेधाज्ञा निरन्तर लुज डाउनतिर जाने भएको छ ।
उपत्यकामा सङ्क्रमण दर घट्दै गएकोले आर्थिक गतिविधि सञ्चालन गर्न लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनकाअनुसार निषेधाज्ञा खुकुलो पारिए पनि स्वास्थ्य मापदण्ड भने कडाइका साथ लागू गर्नुपर्नेछ । स्वास्थ्य मापदण्ड पालना भए/नभएको बारे प्रशासनले निरन्तर अनुगमन गर्नेछ । ‘आर्थिक गतिविधि सहज बनाउन निषेधाज्ञा खुकुलो पारिएको हो,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । भए/नभएको बारे हामी निरन्तर अनुगमन गर्छौ ।’
के जोखिम कम भएको हो ?
निषेधाज्ञा खुकुलो बनाइए पनि कोरोना जोखिम कम नभएको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । यसलाई पछिल्लो तथ्याङ्कले पनि पुष्टि गर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार (२४ घण्टाको अवधिमा) १० हजार नौ सय २६ जनाको परीक्षण गर्दा दुई हजार चार सय ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जुन कूल परीक्षण सङ्ख्याका आधारमा २२ बढी हो । आइतबार काठमाडौँ उपत्यकामा मात्रै साढे पाँच सयमा सङ्क्रमण देखिएको छ । काठमाडौँमा चार सय ५०, ललितपुरमा ७३ र भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जबकि विश्व स्वास्थ्य सङ्गठनले पाँच प्रतिशतभन्दा माथिको कोरोना सङ्क्रमणदारलाई उच्च जोखिम भनेको छ । दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा सङ्क्रमण देखिनु जोखिमकै अवस्था भएको जनस्वास्थ्यविदहरु बताउँछन् । जसमा काठमाडौँका जिल्ला अधिकारी पराजुली पनि सहमत छन् ।
जोखिम पुरै कम नभई तुलनात्मक रूपमा सङ्क्रमण कम हुँदै गएकोले आर्थिक गतिविधि सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए । ‘जोखिम छैन भन्ने होइन । तर, तुलनात्मक रूपमा सङ्क्रमण घट्दै गएको देखिन्छ । सङ्क्रमण दर घटेको अवस्थामा पनि कडाइ गर्न अलि मिलेन, जीवनयापनका कुराहरू पनि छन् । लामो समयदेखि जारी निषेधाज्ञाले कतिपयको दैनिक नै चलाउन समस्या भयो । लाइफ लाइन पनि चलाउनु पर्ने हुनाले खुकुलो बनाइएको हो । स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आर्थिक गतिविधि पनि सञ्चालन गर्नुपर्छ भनेर खुकुलो बनाइएको हो ।’
केही समयअघि अब स्मार्ट लकडाउनमा जानुपर्ने विषयमा निकै चर्चा भएको थियो । के स्मार्ट लकडाउन भनेको यही हो । प्रमुख जिल्ला अधिकारी पराजुली भन्छन्, ‘स्मार्ट लकडाउनभन्दा पनि स्वास्थ्य मापदण्ड पालना गरेर गतिविधि पनि सञ्चालन गरौँ. भन्ने हो ।’
के अब यसलाई निरन्तरता दिँदै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने हो ? सिडिओ पराजुली अहिले नै त्यसबारे कुनै आकलन गर्न नसकिने बताउँछन् । उनकाअनुसार सङ्क्रमण बढेमा फेरि कडाइ पनि हुनसक्छ । ‘आगामी दिनमा के गर्ने भन्ने बारे सङ्क्रमण दर कसरी देखिन्छ त्यही अनुसार निर्णय हुन्छ,’ उनले भने, ‘हामी दैनिक डाटा एनालाइसिस गरिरहेका हुन्छौँ । गरिरहन्छौँ । स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौँ । अब सङ्क्रमण दर कस्तो हुन्छ त्यहीअनुसार निर्णय हुन्छ । घटे थप खुकुलो बन्ला बढे फेरि कडाइ पनि हुनसक्छ ।’
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण पहिलेको तुलनामा केही घटेको देखिन्छ । अस्पतालमा गम्भीर खालका बिरामीको सङ्ख्या पनि कम देखिएको छ । यसले पनि सङ्क्रमण घटेको पुष्टि हुन्छ । तर, जोखिम कम भएको छैन । अझैँ लकडाउन खुलेपछि सङ्क्रमण फेरि बढ्न सक्ने जोखिम कायमै छ । जिल्लामा सङ्क्रमण दर बढिरहेको छ । निषेधाज्ञा खुलेपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा जोखिम अझ बढ्न सक्छ । त्यसैले कोरोना जोखिम टरेको छैन । निषेधाज्ञा खुकुलो हुँदा र आम मान्छेले स्वास्थ्य मापदण्ड पालना नगर्दा फेरि बढ्न सक्छ ।