
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भ्रष्टाचारविरुद्ध सशक्त जनसंघर्ष गर्ने निर्णय गरेको छ ।गण्डकी प्रदेश समितिको आवासीय विस्तारित बैठकले पोखरा विमानस्थलमा भएको अनियमितता, बुढी गण्डकी, मध्य पहाडी लोक मार्गमा भएको ढिलासुस्ती, पोखरा बसपार्कलगायत क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध जनसंघर्ष गर्ने निर्णय गरेको हो ।
यस्तै, फेवातालको मापदण्डलाई सर्वोच्चको आदेश कार्यान्वयन गर्न पोखरा महानगर पालीका र गण्डकी प्रदेश सरकारलाई दबाब र गोर्खाली रबर उद्योगमा भएको अनियमिततालाई छानबिन गरी कार्यवाही गरी सञ्चालन गर्न जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीको पक्षमा जनचेतना अभियान, उत्पीडित जाति, महिला, मजदुर, कृषकहरूको मुद्दालाई संगठनको प्राथमिकतामा राखी समस्या समाधानका कार्यक्रम सञ्चालन गने, गण्डकी प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटप्रति समीक्षात्मक दृष्टिकोण प्रस्तुत गर्दै वैकल्पिक नीति सुझाउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।