गण्डकी प्रदेशका सांसद दिपक मनाङे बेपत्ता बनेपछि पोखराबाट गणेश लामा पक्राउ परेका छन्।
सांसद मनाङ्गेलाई भेट्न पोखरा गएका गुण्डा नाइकेको छवि बनाएका काँग्रेसका नेता गणेश लामालाई प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो। विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले काँग्रेसको राजनीतिमा छन् । उनी कांग्रेसबाट चुनावसमेत लडेका थिए । विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ ।
मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए। मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे। जसका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ढलेको छ भने विपक्षी गठबन्धनलाई नयाँ सरकार बनाउन बाटो खुलेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १५, नेकपा(माओवादी केन्द्र)का ११(सभामुख बाहेक) तथा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका दुईदुई सदस्यले विश्वासको मतका विपक्षमा मतदान गरे । जनमोर्चाका सदस्य कृष्ण थापा भने तटस्थ बसेका हुन् ।प्रदेशसभामा आज उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेको र सभामा निर्णायार्थ पेश गर्दा पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पथ्र्यो ।
मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएपछि अब संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ ।