कोरोना सङ्क्रमणबाट आफन्तको मृत्यु भएपछि शोकाकुल बनेका परिवारजन आफ्नै समुदाय र समाजबाट थप पीडित बन्न थालेका छन् । पछिल्लो समय सङ्क्रमणबाट मृत्यु भएकाको शव दाहसंस्कारस्थलमा जलाउन नदिएर समुदाय र समाजले सङ्क्रमितको परिवालाई झन् धेरै पीडा दिन थालेको छ ।
केही दिनअघि सुनसरीको धरानमा कोरोना सङक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव जनाउन नदिइएपछि आफ्न्तले विराटनगरसम्म ल्याउनु परेको थियो । धरान, चतरा र इटहरीमा सङ्क्रमण सर्नसक्छ भने शव जलाउन नदिएपछि धरानमा मृत्यु भएका सङ्क्रमितको शव विराटनगरस्थित सिंघिया घाट ल्याउनुपरेको थियो । यस्ता घटना धरानमा दुई पटक दोहोरिएको थियो ।
पहिलो घटनाः गत शनिबार धरान–१६ का एक सङ्क्रमित पुरुषको शव जातीय परम्परा र सरकारले जारी गरेको मापदण्डअनुसार खत्रीधारामा जलाउन नदिएपछि रातारात जङ्गलमा पु¥याएर गाडेका थिए ।
पछिल्लो घटनाः गत मङ्गलबार धरान–३ का अर्का सङ्क्रमित पुरुषको शव धरान–१५ खत्रीधारामा जलाउन खोज्दा त्यस क्षेत्रका स्थानीयले शव जलाउन अवरोध गरेपछि विराटनगर ल्याएर अन्त्यष्टि गरिएको हो ।
धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय श्रेष्ठ थरका पुरुषको सोमबार राति १२ बजे मृत्यु भएको थियो । उनको अन्त्यष्टिका लागि आफन्तले धरान, इटहरी र चतराको घाटमा अन्त्येष्टिका लागि अनुमति मागेका थिए । तर सबैतिरबाट अनुमति नपाएपछि आफन्तले मङ्गलबार दिउँसो साढे ३ बजे विराटनगरको परोपकार घाट ल्याएर अन्त्यष्टि गरेका हुन् ।
सङ्क्रमितको शव जलाउँदा कोरोना सर्छ ?
शव जलाउँदा कोरोना सङ्क्रमणको सम्भावना कति हुन्छ भन्ने विषयमा कोसी कोभिड–१९ उपचार केन्द्रका संयोजक डाक्टर दीपक सिग्देलले भने, ‘सङ्क्रमितको शव जलाउँदा पनि कोरोना सर्न सक्ने सम्भावना हुन्छ । तर डब्लुएचओको गाइडलाइनअनुसार जलाएमा भने कोरोना सर्ने सम्भावना न्युन हुन्छ’, उनले केटिएम दैनिकसँग भने ।
‘शवबाट निस्किएको तरल पदार्थ छोएको खण्डमा वा असावधानी अपनाएको खण्डमा भने सङ्क्रमण हुनसक्छ’, उनले थपे, ‘सङ्क्रमितको शव गाड्दाभन्दा जलाउँदा कोरोना सङ्क्रमण फलिसक्ने सम्भावना कम हुन्छ । कि त कफिनमा हालेर गाड्नुपर्छ । डब्लुएचओले पनि जलाउन नै सुझाव दिएको हुन्छ ।’
यस्तै उनले मृतकको अन्त्येष्टिपछि अस्तु पनि सङ्ककन गर्न सकिने उनको भनाइ छ । प्रोटोकलमा शवको खरानीले कुनै जोखिम पैदा नगर्ने भएकाले अन्तिम संस्कारका लागि खरानी सङ्कलन गर्न सकिने उनले बताए ।
यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पल्मोलोजी विभागका चिकित्सक डा. दिव्यराज मिश्रले पनि डब्लुएचओको प्रोटोकल पूरा गरेमा सङ्क्रमितको शव जलाउँदा कोरोना नसर्ने बताए । तर अन्त्येष्टिमा सहभागी सबैले अनिवार्य मास्क, पञ्जा प्रयोग गर्नुपर्ने, अन्त्येष्टि गर्ने स्थानमा बडी ब्याग नखोली दूरी कायम गरी माला चढाउने व्यवस्था गर्न सकिने, मृत शरीरलाई मुसार्ने, अँगालो हाल्ने, ढोग्ने, चुम्बन गर्नेजस्ता कार्य गर्न नहुने प्रावधानः राखिएको उनले बताए ।