बितेको २४ घन्टामा ७ सय भन्दा बढी बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पिसिआर र ४२४ जनाको एन्टिजेन परिक्षण गर्दा आज भेटिएका ९ हजार ३०५ सङ्क्रमितमध्ये बालबालिकाको संख्या ७८८ रहेको छ ।
आज ९ वर्षभन्दा मुनिका २३२ र १० देखि १९ वर्ष उमेर समूहका ५५६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मङ्गलबार ९३२ जना बालबालिकामा कोरोना पुष्टि भएको थियो । बालबालिकाको उक्त संख्या अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।
कोरोनाको नयाँ भेरियन्ट देखा परेसँगै बालबालिकाहरुमा पनि सङ्क्रमण बढ्दै गइरहेको वैशाख १ गतेदेखिको तथ्याङ्कले देखाउँछ ।
पछिल्ला दिनहरुमा २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा बढी सङ्क्रमण देखिएको छ । आज २० देखि २९ वर्ष उमेर समूहका १ हजार ९९२ जना, ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार २०६ जना, ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ७३२ जना, ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार ३१६ जना, ६० देखि ६९ वर्षका ७१३ जना, ७० देखि ७९ वर्षका ३१० जना, ८० देखि ८९ वर्षका १२३ जना, ९० देखि १०० वर्षका २० जना र उमेर नखुलेका ३८ जनामा सङ्क्रमण देखिएको छ ।