वितेको २४ घन्टामा ९ सय भन्दा बढी बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ ।
नेपालमा वितेको २४ घन्टामा ९ हजार ४८३ जना सङ्क्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पिसिआर र ७२० जनाको एन्टिजेन परिक्षण गर्दा भेटिएका ९ हजार ४८३ सङ्क्रमितमध्ये बालबालिकाको संख्या ९३२ रहेको छ ।
आज ९ वर्षभन्दा मुनिका २४६ र १० देखि १९ वर्ष उमेर समूहका ६८६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाको नयाँ भेरियन्ट देखा परेसँगै बालबालिकाहरुमा पनि सङ्क्रमण बढ्दै गइरहेको विगत २५ दिनको तथ्याङ्कले देखाउँछ ।
पछिल्ला दिनहरुमा २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा बढी सङ्क्रमण देखिएको छ । आज २० देखि २९ वर्ष उमेर समूहका २ हजार १० जना, ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार ११४ जना, ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ७०५ जना, ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार ३०३ जना, ६० देखि ६९ वर्षका ७४५ जना, ७० देखि ७९ वर्षका ३३२ जना, ८० देखि ८९ वर्षका ११२ जना, ९० देखि १०० वर्षका १६ जना र उमेर नखुलेका ४८ जनामा सङ्क्रमण देखिएको छ ।