जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए ।
आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् ।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।
त्यसपछि अध्यक्ष ठाकुरले मध्यरातमा विज्ञप्ति जारी गर्दै सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्।
‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,’ ठाकुरले सोमबार राति विज्ञप्ति मार्फत् भनेका छन् । वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरको बुझाइ छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्तरुपमा पत्र लेखेर संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले पनि बहुमतको सरकार गठनका लागि वैशाख ३० गतेसम्मको समयसीमा दिएकी छन् ।
अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ ।
कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १ सय ४१ सांसदसहित सरकार बन्न सक्छ तर जसपाको ठाकुर पक्षले साथ नदिने भएपछि बहुमत नपुग्ने देखिन्छ ।
जसपाकै अर्को गुट यादव-भट्टराई पक्षमा हिजो खुलेका १७ जनालाई जोड्दा कूल संख्या १ सय २६ पुग्दा सरकार बनाउन अझै १० सासंद चाहिन्छ ।