प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन सकेनन् ।
विश्वासको मतका लागि ओलीले राखेको प्रस्तावउपर प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनी विश्वास प्राप्त गर्न असफल भएका हुन्।
विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३ मत पाएका छन्। उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्न भन्ने वा तटस्थमा १५ मत परेको छ। संसदमा जम्मा २३२ सांसद उपस्थित थिए।
प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्वासको मत दिएनन्। प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका एक सय २१ सांसद भए पनि माधव नेपाल-झलनाथ खनाल समूहका सांसदहरू भने आजको बैठकमा अनुपस्थित थिए ।
तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत नपुगेपछि प्रधानमन्त्री ओलीको विश्वासको मत लिने प्रयास असफल भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।
एमालेका एक सय २१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो । प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख ३० गते दिउँसो १ बजे बस्ने छ ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएसँगै अब नयाँ सरकार गठनको बाटो खुला भएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको जानकारी सभामुख अग्नी सापकोटाले राष्ट्रपति विद्या भण्डारीलाई दिनेछन्। संसद्बाट विश्वासको मत नपाएपछि ओलीले अब स्वत पदमुक्त हुनेछन्। उनलाई काम चलाउ प्रधानमन्त्री तोकेर राष्ट्रपतिले संसदभित्रबाटै बहुमतको सरकार बनाउन दलहरूलाई आव्हान गर्नेछिन्।
जसका लागि कांग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दाबी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारीमा रहेको छ । ओलीले फेरि संसद् विघटन गर्ने या ठूलो दलको हैसियतले आफैँ सरकारको दाबी गर्ने आशङ्का पनि विपक्षी दलहरूमा रहेको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएसँगै अब नयाँ सरकार गठनको बाटो खुला भएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि अव सरकार कसरी अगाडी बढ्छ त्यो हेर्न बाँकी छ । मतदान सकिएपछि प्रधानमन्त्री वालुवाटार प्रस्थान गरेका छन् ।