कोरोना महामारीको बेला सेनिटाइजरमा कालोबजारी गर्ने मोरङका तीन वटा फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कारवाही गरेको छ ।
सेनिटाइजर कालोबजारी गरेको आरोपमा विराटनगरका दुईवटा र बूढीगङ्गा गाउँपालिकाको एउटा फार्मेसीलाई दुई लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको हो । आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर सेनिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फार्मेसीलाई कारवाही गरिएको हो ।
बूढीगङ्गा–२ स्थित विज्ञान फार्मेसीले मञ्जरी आयुर्वेद औषधि उद्योगले उत्पादन गरेको रब क्लिन ब्रान्डको १२० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरेको र १०६ प्रतिशत मूल्य बढाएर १६५ रुपैयाँमा बिक्री गरेको पाइएको हो । सो फार्मेसीलाई वाणिज्यले २ लाख रुपैयाँ जरिवाना गराएको छ ।
वाणिज्यले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
अनुगमनकै क्रममा विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि सञ्चालित यस फार्मेसी र सोही स्थानमा रहेको बिनुका फार्मेसीलाई पनि वाणिज्य कार्यालयले जरिवाना गराएको छ । वाणिज्यले यस फार्मेसीलाई ५ हजार रुपैयाँ र बिनुकालाई २० हजार रुपैयाँ जरिवाना गराएको छ ।