नेपालमा नयाँ भेरियन्टसहित कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन् । कोभिड–१९ को चपेटामा मुलुक परेको बेला केही संस्था तथा निकायलाई भने त्यसैको मौका छोपेर ‘कमाउने मेलो’ भएको छ ।
कोरोना सङ्क्रमितको उपचार गरिरहेका काठमाडौँको सिनामंगलमा रहेको केएमसी (काठमाडौँ मेडिकल कलेज), धुम्वराहीमा रहेको ह्याम्स अस्पताल र झापाको बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालले अचाक्ली शुल्क लिएको गुनासो आइरहेका छन् ।
झापाको बिर्तामोड रहेको बीएन्डसी अस्पतालले कोरोना सङ्क्रमितलाई ३३ घण्टा राख्दा ८८ हजारको बिल उठाएको भन्दै प्रदेश १ का सांसद गोपाल बुढाथोकीले सामाजिक सञ्जाल मार्फत गुनासो पोखेका छन् । उनी लेख्छन्, ‘बीएन्डसीले आमालाई ३३ घण्टा हस्पिटलमा राख्दा ५६ हजार रुपैयाँ शुल्क, १८ हजार रुपैयाँ औषधि र १४ हजार रुपैयाँको ल्याब टेस्ट गरी ८८ हजारको बिल थमाएको छ ।´
हस्पिटलको आइसियुमा तातो पानी खान नपाइएको, ओढ्ने लुगा नदिइएको र अरू बेला खानै पर्ने औषधि समेत खान नपाएको बताएका छन् ।
त्यस्तै काठमाडौँको सिनामंगलमा रहेको केएमसीले आज एक सूचना जारी गर्दै प्रतिदिन प्रतिबेडको लागि ३० हजारसम्मको शुल्क लिइने बताएको छ ।
काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगल र स्वास्थ्य मन्त्रालयबिच हालै सहमति भएको थियो। सहमति अनुसार केएमसीले अब ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने छ। सरकार र अस्पतालबिच भएको सहमति अनुसार अस्पतालले सङ्क्रमितको उपचार निःशुल्क गर्नेछ र, त्यो खर्च सरकारले बेहोर्नेछ।
सहमतिअनुसार सामान्य उपचारका लागि प्रतिदिन ३ हजार ५ सय, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचारका लागि १५ हजार रुपैयाँ सरकारले भुक्तानी दिनेछ। तर अस्पतालले क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ।
कोरोना संक्रमतिको उपचारमा अस्पतालले नयाँ शुल्क तोकेकोप्रति सर्वसाधारणले आपत्ति जनाएका छन्।
त्यस्तै धुम्वराहीमा रहेको ह्याम्स अस्पतालले प्रतिदिन प्रतिबेडको ५० हजार सम्म लिने गरेको खुलेको छ । त्यति मात्रै हैन उक्त अस्पतालले बिरामीका आफन्तलाई अस्पतालमा उपचारको क्रममा लाग्ने सम्पूर्ण खर्चको बारेमा कतै उजुर नगर्ने भन्दै मन्जुरीनामा समेत गराएको भेटिएको छ ।
उक्त अस्पतालले जनरल बेडको लागि प्रतिबेड प्रतिदिन ७ हजार रुपैयाँ, ट्विन शेयरिङ्ग रुमको लागि १५ हजार, प्राइभेट रुमको लागि २१ हजार, डिलक्स रुमको लागि २७ हजार र स्विट रुमको लागि एक दिनको ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै गरी आइसियु बेडको चार्ज २२ हजार तोकिएको छ ।
माथि उल्लेखित मूल्य बेडको चार्ज मात्रै हो उपचारको क्रममा औषधि, डाइग्नोसिस, नर्स, डाक्टरको भिजिट, खाना, म्यानेजमेन्ट भन्दै अन्य शीर्षकमा पनि रकम लिइने उक्त मन्जुरीनामा उल्लेख छ ।
अघिल्लो वर्ष कोरोना महामारीले देश आक्रान्त भैरहेको बेला देशभरका सबै निजी अस्पतालले मानवीय संवेदना बिर्सिएका थिए । उनीहरुले अस्पतालका गेट बन्द गरेर बसेको समाचार त्यसबेला प्रकाशित भएको थियो ।
जेठ १५ २०७७ मा केटिएम दैनिकमा “नेपालमा लकडाउनको समयमा गरिएका गलत अभ्यासहरु” शीर्षकमा भोला कोइरालको ब्लग प्रकाशित भएको थियो । उक्त ब्लगमा कोइरालाले लेखेका थिए ।
यस अबधीमा बिषेशगरी निजी स्वास्थ्य संस्थाहरु एकदमै गैर जिम्मेवार रुपमा प्रस्तुत भए । अरु बेलामा एम्बुलेन्स चालकहरुलाई कमिशन खुवाएर बिरामी किन्ने निजी स्वास्थ्य संस्थाहरु कोरोनाको महामारी सुरु हुने बित्तिकै सामान्य ज्वरो आएर अस्पताल जाने बिरामीहरुलाई ढोकै बाट फर्काएका थिए । यस्तो काम केही सरकारी अस्पतालहरुले पनि गरेका थिए । यहि अबधिमा कतिपय बिरामीहरुको उपचारको लागि अस्पताल चाहार्दा चाहार्दै मृत्यु भएको थियो । स्वास्थ्य संस्थाहरुले उनिहरुको बेलैमा उपचार गरिदिएका भए अकालमा ज्यान जाने थिएन ।
भोला कोइरालाको उक्त ब्लग यस लिंकमा उपलव्ध छ ।