काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।
टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।
Here we go, on to the Top 10. Thank you everyone for supporting since the start, words won’t do justice for how much i appreciate this massive support from all around the world. Thank you for voting!!!To be standing… https://t.co/wDH8jCCWxc
— Arthur Gunn (@ArthurGunn122) May 4, 2020
‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ उनले लेखेका छन्, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’
सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।
जारी अमेरिकन आइडलमा उच्च फ्यान फलोइङ भएका दिवेशलाई उपाधिकै एक दावेदारका रुपमा हेर्न थालिएको छ ।