काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो हटाउने कामलाई सुरक्षित रूपमा सम्पन्न गर्न आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको छ ।
पहिरो पन्छाउने क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा तुइनखोला क्षेत्रमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिनेछ ।
यद्यपि, काठमाडौँबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरातर्फ जाने सडकखण्डमा भने सवारी आवागमन नियमित रूपमा सञ्चालन हुने प्रशासनले स्पष्ट पारेको छ ।