काठमाडौँ– साउदी अरबमा पछिल्लो समय भएका आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा एक नेपालीको मृत्यु भएको र तीन जना घाइते भएको पुष्टि गरेको हो। घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा ११ जना घाइते भएका थिए। तीमध्ये तीन जना नेपाली नागरिकसमेत रहेका थिए। साउदी अरबको नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी समूह जिम्मेवार रहेको जनाएको थियो।
मन्त्रालयले मृतक नेपालीका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यसअघि गत अक्टोबर २१ मा साउदी अरबस्थित साउदी अरामकोको शेबाह तेल क्षेत्रमा अवरोध गरिएको ड्रोनको भग्नावशेष खस्दा नेपाली श्रमिक भरत महतोको मृत्यु भएको थियो।
यद्यपि, पछिल्लो घटनामा ज्यान गुमाउने नेपालीको परिचय, मृत्यु भएको मिति र स्थानबारे मन्त्रालयले खुलाएको छैन। उनको मृत्यु नोभेम्बर २४ मा रियादमा भएको आक्रमणसँग सम्बन्धित हो वा अन्य घटनामा भएको हो भन्ने पनि स्पष्ट हुन सकेको छैन।
मन्त्रालयले नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि अवस्थामा निशाना बनाउन नहुने नेपालको धारणा दोहोर्याउँदै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। साथै, विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्नसमेत अपिल गरेको छ।