काठमाडौं – पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्दै यसबारे थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ।
‘एकनारायण अर्याल पक्राउ परेको सत्य हो। यसबारे थप विवरण पछि सार्वजनिक होला,’ मन्त्रालय स्रोतले भन्यो।
अर्याललाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे भने खुलाइएको छैन।
यसअघि यही प्रकरणमा तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।
उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।