काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफ्नो स्थानमा सुधार गरेका छन्। अलराउन्डरको वरीयतामा ऐरी एक स्थान माथि उक्लिँदै पाँचौँ स्थानमा पुगेका छन्। उनको रेटिङ २५५ रहेको छ र उनले इंग्ल्याण्डका विल ज्याक्सलाई पछि पारेका छन्।
यस्तै, कुशल भुर्तेल पनि अलराउन्डरतर्फ एक स्थान सुधार गर्दै १९ औँ स्थानमा उक्लिएका छन्। टी-२० ब्याटरको सूचीमा भुर्तेल ५०० रेटिङसहित ६३ औँ स्थानमा यथावत् रहेका छन् भने ऐरी दुई स्थान सुधार गर्दै ४९१ रेटिङसहित ६८ औँ स्थानमा पुगेका छन्।
बलिङतर्फ नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले एक स्थानको सुधार गरेका छन्। ५६३ रेटिङसहित उनी ४४ औँ स्थानमा रहेका छन्। टी-२० बलिङको शीर्ष स्थानमा ७३१ रेटिङसहित अफगानिस्तानका रासिद खान रहेका छन्।