विराटनगर । लामो समयदेखि बन्द अवस्थामा रहेको नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपक कुमार साहको पहलमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत उद्योग सञ्चालन गर्न रणनीतिक लगानीकर्ताका लागि आशयपत्र (ईओआई) आह्वान गरिएको छ।
मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले बुधबार (२०८३ मंसिर ९ गते) सूचना जारी गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न आग्रह गरेको हो। उद्योगको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि आर्थिक रूपमा सबल तथा अनुभवी लगानीकर्ता छनोट गर्ने उद्देश्य राखिएको छ।
प्रस्तावित योजनाअनुसार जुट मिल पुनः सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य छ। उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।
उद्योगको विराटनगर र दमकमा रहेको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा लगानीकर्तालाई उपलब्ध गराइनेछ।
नयाँ लगानीकर्तालाई आकर्षित गर्न उद्योगका पुराना वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्वको व्यवस्थापन सरकारले गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसबाट नयाँ लगानीकर्ताले विगतका ऋण तथा दायित्वको भार व्यहोर्नुपर्ने छैन।
त्यस्तै, औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार लगानीकर्ताले मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजान पाउने सुविधा तथा प्रारम्भिक वर्षमा लिज भाडामा सहुलियत प्राप्त गर्न सक्नेछन्।
सन् १९३६ (वि.सं. १९९३) मा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो आधुनिक उद्योग हो। राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी तथा आर्थिक समस्याका कारण पटक–पटक बन्द हुँदै आएको यो उद्योग पुनः सञ्चालन गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि ठोस प्रगति हुन सकेको थिएन।
मन्त्री साहले मन्त्रालयको नेतृत्व सम्हालेपछि बन्द तथा रुग्ण उद्योगको पुनरुत्थानलाई प्राथमिकतामा राख्दै जुट मिल सञ्चालनका लागि नीतिगत र प्रशासनिक प्रक्रिया अघि बढाएका हुन्।
आशयपत्र पेस गर्ने समयसीमा समाप्त भएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने योजना छ। त्यसपछि उद्योगको आधुनिकीकरण र पुनः सञ्चालनका कामलाई तीव्रता दिइने मन्त्रालयको तयारी छ।
