काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण गरिने कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन्।
गोरखाको गण्डकी गाउँपालिका–घ्याल्चोकस्थित सिउरेनीटारमा आयोजित विशेष समारोहमा सभामुख अर्यालले उक्त संरचनाको शिलान्यास गरेका हुन्।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई कार्यान्वयनको चरणमा अघि बढाउने उद्देश्यसहित प्रशासनिक तथा आवास भवन र पक्की पुल निर्माण सुरु गरिएको हो।
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार यी संरचनाको निर्माण सम्पन्न भएपछि आयोजना सञ्चालन तथा कार्यान्वयनका लागि आवश्यक पूर्वाधार थप व्यवस्थित हुने र निर्माण प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।