काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि गरिएको धरपकड र प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यसहित मिडिया काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने तयारीविरुद्ध नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको छ।
महासंघले बुधबार देशभरका प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गरेको हो। काठमाडौं शाखाले बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयबाहिर ‘पत्रकारलाई सामूहिक गिरफ्तारी गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरेको थियो।
प्रदर्शनका क्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले अध्यादेश फिर्ता नलिएसम्म, कानुन निर्माणमा हस्तक्षेप कायम रहेसम्म र धरपकडमा संलग्न दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताइन्।
उनले समाचार लेखेकै आधारमा प्रहरीले हस्तक्षेप गर्ने, साइबर ब्युरोमा स्रोत खुलाउन दबाब दिने तथा दैनिक रूपमा पत्रकार पक्राउ गर्ने र न्युजरुममै प्रवेश गरेर धरपकड गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाइन्। संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले मिडिया काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन र सरोकारवालासँग छलफल गरी संसद्बाटै कानुन बनाउन माग गरिन्।
अध्यक्ष शर्माले लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती तथा सर्वोच्च अदालतले खारेज गरेको आदेशसमेत कार्यान्वयन नभएको विषय पनि उठाइन्।
मंसिर २ देखि ७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरेको महासंघले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।