काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत रूपमा सुधार गर्दै व्यवस्थित र मर्यादित बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा गिद्दे प्रेसको दोस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले आफ्नो मन्त्री पद निश्चित अवधिको जिम्मेवारी भए पनि सञ्चार तथा पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकको कानुनी सुधारका लागि काम भइरहेको जानकारी दिए । पत्रकारिताका नयाँ आयामलाई समेत समेट्ने गरी सरकारले आवश्यक कानुन निर्माण गर्ने उनको भनाइ थियो ।
युट्युब पत्रकारितालाई पनि नियमनको दायरामा ल्याउनुपर्ने विषय सकारात्मक भएको बताए ।
पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रलाई थप प्रतिष्ठित र मर्यादित बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पत्रकार भूपाल लुइँटेललाई सम्मान गरिएको थियो ।