काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।
देशभर ग्यासको आपूर्ति सहज, नियमित र प्रभावकारी बनाउन निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
निगमले बजारको मागअनुसार एलपी ग्यासको आयात अधिकतम वृद्धि गर्न उद्योगहरूलाई आग्रह गरेको छ । त्यस्तै, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्न र भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन पनि निर्देशन दिएको छ ।