काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएको सरकार गठन भएपछि जनताले झन् बढी दुःख पाएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए । दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै बढेको दाबी गर्दै उनले जनताको सुख र सहजताका लागि जिम्मेवार हुनुपर्ने सरकार त्यसतर्फ उदासीन रहेको बताए ।
जनताले आर्थिक कठिनाइ भोगिरहेका बेला शासकहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको उनको टिप्पणी थियो । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, व्यवहार र परम्परागत मूल्य–मान्यतामा नकारात्मक असर पारिरहेको उनले बताए ।
प्रयोगकर्ताको रुचिअनुसार सामग्री निरन्तर प्रस्तुत गर्ने सामाजिक सञ्जालको प्रवृत्तिले मानिसको सिर्जनशीलता र सोच्ने क्षमतामा असर पार्नुका साथै मुलुकको संस्कृति, परम्परा र सभ्यतामाथि समेत चुनौती थपेको पोखरेलको भनाइ थियो ।
सामाजिक सञ्जालमा लाइक र भ्युज पाउने लोभमा नेपाली समाज आफ्नै संस्कृति र मर्यादाबाट विमुख हुँदै गएको टिप्पणी गर्दै उनले परम्परा, मूल्य–मान्यता र रीतिरिवाजको संरक्षणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।