काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले नेपाल र भारतबीच तयार पारिएको संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै रावलले दुई सार्वभौम स्वतन्त्र देशले संयुक्त भिजन पेपर बनाउनु अस्वाभाविक भएको टिप्पणी गरे । यसबाट नेपालको राष्ट्रिय हितमा सकारात्मक परिणाम आउनेमा समेत उनले आशंका व्यक्त गरे ।
‘एउटा सार्वभौम स्वतन्त्र देशले अर्को देशसँग मिलेर भिजन पेपर बनाउँछ ? कतै सुन्नुभएको छ ? संयुक्त भिजन पेपरमा अब दुईले घाँटी जोडेर के गर्ने हुन् ?’ उनले प्रश्न गरे ।
सरकारका कामकारबाही जनताले अनुभूत गर्न नसकेको रावलको आरोप छ । नयाँ सरकारले जनताले बुझ्न नसक्ने गरी अंग्रेजी शब्दको प्रयोग गरेर आफूलाई ठूलो देखाउन खोजेको उनको टिप्पणी थियो । संविधानले नेपाली भाषालाई देवनागरी लिपिमा हुने व्यवस्था गरे पनि त्यसको कार्यान्वयन नभएको उनले बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणबाट के उपलब्धि हासिल हुन्छ भन्ने कुरा फर्किएपछि मात्रै थाहा हुने रावलले बताए । हजारौँ युवा रोजगारी र अवसरको खोजीमा विदेशिइरहेको अवस्थामा सरकारले गरेका काम र आगामी नीतिबारे जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
पार्टीको राष्ट्रिय जागरण अभियानका क्रममा देशको अर्थतन्त्र, राजनीति, संस्कृति र समृद्धिबारे बहस गर्नुपर्ने उनले बताए । यसैबीच, रावलले गेटा अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।