काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार एक वर्ष पनि टिक्न नसक्ने दाबी गरेका छन् । उनले बालेन नेतृत्वको सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिँदै घाम लागेपछि आफैँ समाप्त हुने टिप्पणी गरे ।
एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘यो बर्खामा उम्रिएको चुच्चे च्याउ हो । बर्खा सकिएपछि घाम लाग्न थाल्दा यो च्याउ मरेर सकिन्छ ।’ उनले सरकार एक वर्ष पनि नटिक्ने दाबी गरे ।
बस्नेतले सरकारलाई सुकुम्बासीका समस्या समाधान गर्न नसकेको आरोप लगाए । सुकुम्बासीका घर भत्काएर उनीहरूलाई वर्षायाममा सडकमा बस्न बाध्य पारिएको भन्दै उनले सरकारप्रति जनआक्रोश बढिरहेको दाबी गरे ।
बंगलादेशमा भइरहेको आन्दोलनको प्रसंग उल्लेख गर्दै उनले सुकुम्बासी, गरिब र युवाका माग सम्बोधन नगरे नेपालमा पनि त्यस्तै परिस्थिति उत्पन्न हुन सक्ने चेतावनी दिए । भोटेकोशीका बाढीपीडितले समेत राहत नपाएको उनको आरोप थियो । प्रधानमन्त्री राहत कोषमा १७ अर्ब रुपैयाँ जम्मा भए पनि बाढीपीडित भोकै बस्नुपरेको उनले बताए ।
बस्नेतले वैदेशिक शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाएर ओलीविनाको नेपाल र एमाले निर्माण गर्न खोजेको आरोप लगाए । तर, ओलीविनाको एमाले र एमालेविनाको देश बनाउने प्रयास सफल नहुने उनको दाबी थियो । एमालेभित्र ओलीको विकल्प खोज्ने प्रयासलाई कार्यकर्ताले अस्वीकार गरिसकेको उल्लेख गर्दै उनले ओलीको नेतृत्वप्रति कार्यकर्ताको समर्थन रहेको बताए ।
उनले ओलीले देश विकास र राष्ट्रियताको पक्षमा खेलेको भूमिकाका कारण उनीमाथि षड्यन्त्र भइरहेको आरोपसमेत लगाए ।