काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यस संस्करणमा पुरस्कार राशि उल्लेख्य रूपमा वृद्धि गर्दै विजेता, उपविजेता तथा तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीका लागि कुल तीन करोड रुपैयाँ छुट्याएको छ।
क्यानले प्रतियोगिता सुरु हुनुअघि सार्वजनिक गरेको पुरस्कार विवरणअनुसार उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पाउनेछ। यस्तै, उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यसरी प्रतियोगिताका शीर्ष चार टोलीले मात्रै कुल तीन करोड रुपैयाँ नगद पुरस्कार बाँड्नेछन्।
एनपीएलका अघिल्ला दुई संस्करणमा विजेता टोलीले एक करोड रुपैयाँ पुरस्कार पाउँदै आएका थिए। यसपटक विजेताको पुरस्कार राशि ५० लाख रुपैयाँले बढाइएको छ। त्यस्तै, उपविजेताले अघिल्लो संस्करणमा पाएको ५१ लाख रुपैयाँको तुलनामा २९ लाख रुपैयाँ बढी प्राप्त गर्नेछ।
टोलीगत पुरस्कारसँगै व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ। यसपटक खेलाडीले नगद पुरस्कारसँगै कार, मोटरसाइकल र विशेष क्यापसमेत प्राप्त गर्नेछन्।
प्रतियोगितामा बजाज पल्सरले ‘पावर प्ले च्याम्पियन’ विधा पनि सञ्चालन गरेको छ। प्रत्येक खेलको सुरुआती ६ ओभरमा उत्कृष्ट प्रभाव पार्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था छ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार र उत्कृष्ट नेपाली खेलाडीलाई प्रदान गरिने कार फरक–फरक विधा हुन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विदेशी खेलाडीसमेत बन्न सक्नेछन् भने कार भने उत्कृष्ट नेपाली खेलाडीलाई प्रदान गरिनेछ।
एनपीएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी र लुम्बिनी लायन्सका रोहितकुमार पौडेल उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै कार जित्न सफल भएका थिए। दोस्रो संस्करणमा रोहितले उत्कृष्ट ब्याटरको उपाधिसँगै मोटरसाइकलसमेत जितेका थिए।
आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा पुरस्कार राशि वृद्धि गरिनुलाई नेपाली क्रिकेटको व्यावसायिक विस्तार र लिगप्रतिको बढ्दो आर्थिक आकर्षणका रूपमा हेरिएको छ। क्यानका कोषाध्यक्ष पदम खड्काले प्रतियोगिताको आम्दानी बढ्ने अपेक्षासँगै पुरस्कार राशि पनि वृद्धि गरिएको बताएका थिए।