जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जानकारी दिएको हो ।
यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस नगरेपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । यससँगै उनी दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीसमेत बनेका छन् ।