काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।
लगातार दोस्रो पटक फाइनलमा पुगेको लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रँदा सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने योजनामा हुनेछ । लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक अघिल्ला दुई संस्करणको हार बिर्साउँदै उपाधि जित्ने दाउमा छ ।
लिग चरण र पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो । लिग चरणको पहिलो भेटमा लुम्बिनीले ७ विकेटले जित निकालेको थियो भने पहिलो क्वालिफायरमा ६ विकेटले हराउँदै सोझै फाइनलमा स्थान बनाएको थियो । त्यसैले सुदूरपश्चिमसँग फाइनलमा ती दुवै हारको बदला लिने अवसरसमेत छ ।
लुम्बिनीले लिग चरणमा सात खेलबाट पाँच जित, एक हार र एक खेलमा नतिजाविहीन हुँदै ११ अंक जोडेर शीर्ष स्थान हासिल गरेको थियो । टोलीले उत्कृष्ट नेट रनरेटसमेत कायम गरेको थियो । ब्याटिङ र बलिङ दुवैतर्फ सन्तुलित प्रदर्शन गर्नु लुम्बिनीको मुख्य बलियो पक्ष हो ।
लुम्बिनीका लागि अस्ट्रेलियन ब्याटर डार्सी सर्टले प्रतियोगितामा १४८ रन बनाएका छन् । उनले ब्याटिङसँगै बलिङमा पनि पाँच विकेट लिएका छन् । त्यस्तै, बलर शेर मल्लले नौ विकेट लिँदै टोलीको बलिङलाई प्रभावकारी बनाएका छन् ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । उक्त खेलमा निःसंका डिक्वेलाले अविजित ५९ रन बनाएका थिए ।
गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो । त्यसैले यसपटक पनि उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा लुम्बिनी छ ।
यता, सुदूरपश्चिमले लिग चरणमा सात खेलबाट पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थान हासिल गरेको थियो । सुरुवाती तीनमध्ये दुई खेलमा पराजित भएको टोलीले त्यसपछि लगातार चार खेल जित्दै उत्कृष्ट पुनरागमन गरेको थियो ।
सुदूरपश्चिमको ब्याटिङको मुख्य जिम्मेवारी कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन् । उनले प्रतियोगितामा अहिलेसम्म २१७ रन बनाउनुका साथै बलिङमा पनि छ विकेट लिएका छन् । बलिङतर्फ अनिल खरेलले १० विकेट लिँदै प्रभावशाली प्रदर्शन गरेका छन् । स्कट कुगेलेइन र थारिन्दु रत्नायकेले पनि टोलीका लागि महत्वपूर्ण योगदान दिएका छन् ।
पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले चितवन राइनोजलाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो ।
सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल हो । पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको टोली यसपटक पहिलो उपाधिको खोजीमा छ ।
यस संस्करणमा लिग चरण र पहिलो क्वालिफायर गरी लुम्बिनीले सुदूरपश्चिमसँगका दुवै खेल जितेको छ । तथ्यांकका आधारमा लुम्बिनी केही बलियो देखिए पनि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले देखाएको पुनरागमन क्षमतालाई कमजोर आँकलन गर्न सकिँदैन ।
आजको फाइनल लुम्बिनीका लागि उपाधि रक्षा गर्ने चुनौती हो भने सुदूरपश्चिमका लागि लगातार दुई फाइनलको हारको इतिहास बदल्ने अवसर । त्यसैले दुवै टोलीबीचको उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।