काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेको पत्र बिहीबार एन्फालाई पठाउँदै निलम्बन तथा प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन्।
राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको पत्रमा उल्लेख छ। प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी हटाइएको हो।
एन्फाले गत अप्रिल ५ (चैत २३) मा पत्राचार गर्दै निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ बमोजिम निलम्बन फुकुवाको निर्णय गरिएको राखेपले जनाएको छ।
यस निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालयका साथै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको छ।