चन्दा क्षेत्री/काठमाडौं । चितवन राइनोजलाई नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–२ मा पुर्याउन कीर्तिमानी शतक प्रहार गरेका कामिल मिसाराले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितलाई प्राथमिकता दिएको बताएका छन्। उनले आफ्नो शतक चितवनका समर्थक, टोलीका साथी तथा आफ्नो क्रिकेट यात्रामा साथ दिने सबैलाई समर्पित गरेका छन्।
बुधबार काठमाडौं गोर्खाजविरुद्धको एलिमिनेटरमा मिसाराले ५९ बलमा अविजित १२० रन बनाएपछि चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। जवाफमा काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमा समेटिएपछि चितवन ६१ रनले विजयी भयो।
खेलपछि प्रतिक्रिया दिँदै मिसाराले सुरुआतमै दुई विकेट गुमाउँदा दबाब सिर्जना भए पनि रवि बोपारासँग मिलेर लामो साझेदारी गर्ने योजना बनाएको बताए। यसअघिका खेलमा राम्रो सुरुआत पाए पनि त्यसलाई ठूलो इनिङ्समा बदल्न नसकेको उल्लेख गर्दै उनले यसपटक भने अवसरको सदुपयोग गर्न सकेको बताए।
मिसारा र बोपाराले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए। व्यक्तिगत शतकको नजिक पुग्दा पनि आफ्नो ध्यान टोलीका लागि थप रन बनाउनेमा केन्द्रित रहेको मिसाराले बताए। ९० रनको आसपास पुग्दा पनि शतकभन्दा टोलीको स्कोर बढाउने सोचमा रहेको उनको भनाइ थियो।
इनिङ्सका क्रममा २७ रनमा हुँदा काठमाडौंका विल बोसिस्टोले उनको क्याच छाडेका थिए। त्यसपछि मिसाराले आफ्नो लय कायम राख्दै ठूलो स्कोर बनाए। उनले खेलमा पाएको अवसरलाई सदुपयोग गर्न सकेकोमा खुसी व्यक्त गरे।
चितवन पहिलोपटक क्वालिफायर–२ मा पुगेको छ। फाइनल प्रवेशका लागि टोलीले बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। आगामी प्रतिद्वन्द्वीमा केन्द्रित हुनुभन्दा आफ्नो टोलीले राम्रो क्रिकेट खेल्नुपर्नेमा जोड दिँदै मिसाराले राम्रो प्रदर्शन गर्न सके जुनसुकै टोलीलाई हराउन सकिने विश्वास व्यक्त गरे।
लगातार २० ओभर ब्याटिङ गरेपछि फिल्डिङमा उत्रिनु शारीरिक रूपमा चुनौतीपूर्ण भए पनि खेलाडीले त्यसलाई व्यवस्थापन गर्नुपर्ने उनले बताए। त्यसैगरी, सिकन्दर राजा चोटका कारण आजको खेलमा खेल्न नसकेको र आगामी खेलमा उनी खेल्ने वा नखेल्ने केही भन्न नसकिने उनको भनाइ थियो।
मिसाराले आफ्नो शतक चितवनका समर्थक, टोलीका साथी तथा आफ्नो क्रिकेट यात्रामा साथ र समर्थन गर्ने सबैलाई समर्पित गरेका छन्।